Tuesday, December 4, 2018

ती रातमा उड्ने सारसहरू

    लौ आजको दिन पनि सकियो । मजाले सुत्नुपर्छ अब , भोलि बिहान सबेरै उठेर अस्पताल पनि जानु छ । यो सोच्दै एउटा बोतलमा पानी भरेर सिरानीको छेउमा राख्यो अनि बत्ति निभाउन गयो ऊ । खाटमा आएर पल्टियो । यसो मोबाइल उठायो , पौने एघार भइसकेको थियो राति को । मोबाइलको डाटा बन्द गर्यो अनि सिरानीको अर्को छेउमा मोबाइल राखेर सिरक ओढेर सुत्यो । दिनभरि थाकेर हो कि सुत्ने बित्तिकै आँखा झुप्प भए । निदाउन मात्र के आँटेको थियो , एउटा परिचित आवाजले उसलाई बिउँझायो । आवाज ऊसँग कोठामा बस्ने साथीको थियो । उसलाई झनक्क रिस उठ्यो , सोच्यो "के चाहिँ होला यो दिनहुँ को गफ , त्यो पनि ११ बजेपछि मात्रै गर्नुपर्ने ?" 

    उसले यो समस्या झेल्न थालेको पनि धेरै भइसकेको थियो , आफ्नै साथीसँग छुच्चो किन बनौं भनेर केही नभनी सहिरहेको थियो यतिका दिनसम्म । फेरि आज पनि त्यस्तै , ऊ रिसले जुर्मुरियो तर केही भनिहाल्न सकेन उसले । रिसलाई नियन्त्रण गरेर ऊ सुत्ने प्रयास गर्न थाल्यो तर कहाँ सकिन्थ्यो सुत्न त्यस्तो हल्लामा । "गफ पनि कति आएका होलान् , त्यो पनि एकजना सँग मात्रै हो र । यति राति यसरी खित्तिएर बस्ने फोनको अर्को पट्टिकी मान्छे पनि कस्ती होली ?" उसलाई अचम्म लागे सँगसँगै रिस पनि उठिरहेको थियो । जति सोच्दै जान्थ्यो रिस उति बढ्दै जान्थ्यो , अनि फेरि उस्ले आफैंलाई धिक्कार्न लाग्यो , "अरू मान्छे यसरी बोलीकै भरमा महिनै पिच्छे नयाँ साथी बनाउँछन् , आफू भने उसबेलामा मन पराएकी एउटी केटीलाई पनि भन्न नसकेर अर्कैले उछिट्यायो ।" साथी उता सम्झाउँदै थियो कसलाई हो , "के गर्नुपर्छ , के गर्नुहुन्न , के गर्यौ भने म के गर्छु" भनेर । यत्तिकै मा साथीले फोन काट्यो , उसले बुझेन अन्तिममा के भन्यो भनेर ।

    मोबाइल उचालेर हेर्यो उसले , एघार बजेर दस मिनेट गइसकेको थियो । "अब चाहिँ सुत्न पाइन्छ कि?" सोचेको मात्र के थियो फोनको घण्टी फेरि बज्यो । "हेल्लो , बाबु छोरो ! के छ खबर ?" यति सुनेपछि उसले यो निश्चित गर्यो कि आज राति सवा बाह्र नबजी सुत्न पाइन्न । भोलि पनि सुन्निएका आँखा लिएर अस्पताल जानुपर्ने भयो, त्यति मात्रै हो र , दिनभरि झुप्प झुप्प निद्राले सताउँछ । ऊ खाटबाट उठ्यो पानी पियो अलिकति अनि चर्पी छिर्यो पिसाब फेर्न भनेर । चर्पीबाट निस्किँदा जानी जानी ढोका झड्याम्म ठोक्यो फोन गर्ने मान्छेले सुनोस् भनेर । तर उसको ढोका ठोकाइले केही असर पारे जस्तो देखिएन फोन गर्नेलाई , आफ्नै तालमा दिइरहेको थियो ऊ कोठामा अरू कोही पनि छन् भन्ने परवाहै नगरी । "बाबालाई देऊ त...."...."भाउजुलाई दिनु न...."...."बुबा सँग कुरा गरौं त...."...."आमा...."...."कान्छी भान्जी भागिन् रे ?..... को सँग ....?"...."ठुलो भान्जा पनि उतै गए रे ?...." यस्तै यस्तै सुन्दा सुन्दै बाह्र बजेछ । तर अझै उसको गफ सिद्धिने छाँट थिएन । 

    मान्छे अनुसारका सल्लाह सुझाव दिँदै थियो साथी , तर ऊ भने खाटमा मढारिइरहेकाे थियो क्रोधले । कहाँ बाट आउँछ यति धेरै कुरा अचम्ममा थियो ऊ । "दार्शनिक भएर प्रवचन दिँदै हिँड्नुपर्ने मान्छे कसरि यहाँ आएर अड्कियो ?" , उसैबेला साथीहरूले सुरु-सुरुमा उसलाई "नासा पुग्नुपर्ने मान्छे कसरी खासा आइपुगेछ !" भनेर उडाएको सम्झना आयो । 

    साँढे बाह्र बजेपछि उसको कुरा सिद्धियो घर परिवार सँग । अब चाहिँ सुत्छ होला ऊ विश्वस्त भएर सिरकमा गुटुमुटु परेर सुत्न आँट्यो । "अँ के यहाँ दाइले फोन गर्नुभयो , घरमा सबैजनासँग कुरा गर्दा गर्दै यति बेर भयो । अब हामी पनि सुतौँ है । मेरो रुम्मेट पनि सुतिसक्याे ।" हैट ! अझै पनि सिद्धिएको रैनछ , सकिएन बाबा सकिएन । "नाइँ के ! भोलि बेलुका फेरि गरौंला । म चाहिँ सुतेँ है ।" भनेर फोन काट्यो उसले । शिशिर पनि खाटमा छट्पटाउँदा छट्पटाउँदै एकैछिनमा भुसुक्क निदायो । दिनभरिको दौडधूपले थाकेको हुँदो हो बिचरो ।
    साँढे छ बजेको मोबाइलको घण्टी बिउँझियो ऊ , मुख धोयो , पानी तताएर खाजा खायो अलिकति अनि लुगा लगाएर लाग्यो अस्पताल तिर । राति निद्रा नपुगेर होला उसलाई आज अस्पतालमा पनि धेरै बेर बस्ने मन भएन , दिउँसो खाना खाने बेलामा ऊ कलेजको चमेनाघर आइपुग्यो । खाना खाएर ऊ कोठा फर्कियो , अरू दिन एकैछिन भने पनि पुस्तकालय जाने उसलाई आज केही गर्ने मन भएन । कोठामा आइपुग्नेबित्तिकै लुगा खोलेर खाटमा पल्टियो । आफ्नो कोठाको साथी सम्झियो उसले , अरू साथीहरू हाम्रो कोठामा आएको बेलामा , "दस बजिसक्यो अब सुत्नुपर्छ , हाम्रो त चाँडै सुत्ने बनी छ । तिमीहरूको जस्तो बाह्र एक बजेसम्म गफ गरेर बस्ने बानी छैन ।" भनेर धपाउने मान्छे आफैं साँढे बाह्र बजेसम्म हल्ला गरेर सुत्न दिएन उसलाई हिजो राति । यो मान्छेको जात , अरूलाई होच्याएर उडाउँदा उडाउँदै आफूले के गर्ने गरेको छ सोच्न बिर्सिन्छ , अरूको उछितो काट्दा काट्दै आफ्नो उछितो काट्ने मान्छे पनि छन् भन्ने बिर्सिन्छ । टोलाउँदा टोलाउँदै ऊ निदायो । ब्युँझिदा साँढे चार बजेछ , हिउँदको दिन घाम पनि डुब्नै आँटिसकेको थियो । ऊ उठ्यो चिसो पानी ले मुख धोयो , टेबुुलमाथि बाट एउटा किताब झिकेर हेर्नथाल्यो । पाँच बजिसकेको थियो उसको पेट कराउन थाल्यो भोकले , घम्म लुगा लगाएर ऊ निस्कियो खाना खान । हिजो राति का कुरा सबैजसो हराइसकेका थिए उसको दिमागबाट । भात खाइसकेर ऊ कोठा फर्कियो , एकछिन पछि उसको साथी पनि फर्कियो । एकै कोठामा बस्ने भए पनि आज उनीहरू दुईजनाको वार्तालाप भएको थिएन । अरू दिन भन्दा उसको साथी अलि कम खुसी देखिन्थ्यो , आउने बित्तिकै इयरफोन कानमा घुसाएर गफ गर्न थालिहाल्ने उसले आज त्यसो गरेन । यो देखेर शिशिरले अनुमान गरिहाल्याे आज केही गडबड छ । केही छिन मा वल्लो पल्लो कोठाका साथीहरू पनि आए , त्यस्तै गाउँघरका गफ भए अलिअलि , पढाइका कुरा भए अलिअलि । अरू दिन कुरामा पूर्ण सहभागिता जनाउने साथी आज आइप्याड हेर्न मै व्यस्त थियो । साथीहरूले पनि बुझेछन् कि क्या हो , दसै नबजिकनै आफ्ना कोठा फर्किए । उनीहरू जाने बित्तिकै ढोकाको चुकुल कस्यो अनि बत्ति निभाउन गयो शिशिरको साथी । "लौ आज अचम्मै भयो" शिशिरले मनमनै सोच्यो , यतिका दिनसम्म सँगै बसेको शिशिरलाई साथीले गएर बत्ति निभाएको र ढोका लगाएको सम्झना थिएन , घरमा आमाले चुलोचौको गरेजस्तै केही नभनी गर्दै आइरहेको थियो ऊ यी काम आजका दिनसम्म ।

    बत्ति निभाएर साथी गम्लङ्ग आएर पल्टियो खाटमा अनि सुत्यो मुख-सुख छोपेर । यो देखेर शिशिर मनमनै खुसी भयो ,सोच्यो आज भने काम न काजको खित्का , हल्ला अनि उपदेश सुन्नु नपर्ने भयो । यसैगरी दुई तीन रात शान्तिको निद्रा पयो शिशिरले । चौथो हो कि पाँचौं रात शिशिर सुतेको मात्र के थियो "हेलो ! चिन्यौ म विशाल क्या .... तिम्रो मामाको साथी.... ।" को आवाज उसको कानमा पर्यो । ऊ रिसले भनभनियो "फेरि अर्की आइजस्ती छ ।" अब के चाहिँ गर्ने भन्ने सोच्दै थियो , उसलाई एउटा उपाय आयो । इयरफोन तान्यो टेबुलबाट , मोबाइलमा जोड्यो अनि ठोस्यो दुवै कानमा , मन्द स्वरमा गीत बजायो । एकघण्टा पछि मोबाइल बन्द हुने बनाएर सिरानीको एक छेउमा राख्यो । साथीले गफ गरेको अलिअलि सुनिन्थ्यो त्यो पनि अलि ध्यान दिएर सुने मात्रै । मोबाइलमा गीत बज्दै थिए , ऊ बिस्तारै निदाउँदै थियो । गुलाम अलि गुनगुनाउँदै थिए , "किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ ....." । गीत सिद्धिनु अघि नै ऊ निदाइसकेको थियो अनि छलाङ लगाउँदै थियो सपनाको आकाशमा ति रातमा उड्ने सारसहरूसँगै ।

बलात्कृत

 शुष्क शुष्क सास लिंदै पल्टिरहेकी मलाई  पछाडिबाट कोही घच्घच्याउन थाल्छ  ऊ त अरू कोही नभएर  त्यही पल्ला घरे दाइ पो रहेछन् । उनको घच्घच्याइको ...