Wednesday, March 6, 2019

अजिब ऐजेरु

     "भोलि पानी पर्ने मौसमी पूर्वानुमान छ ।" हेमन्तले साथीहरूले कक्षामा भनेको सुनेको थियो । त्यसैका भरमा ऊ कोठा फर्किने बित्तिकै छाता खोज्न थाल्यो खाटमुनि । छाता पनि त्यहीँ रहेछ , बर्खाको बेला ओढेदेखि ओढिएको थिएन त्यो छाता । छाता पुरानो थियो तर पनि काम चल्दैथियो त्यसैले उसले अर्को किन्ने सोच बनाएको थिएन , सोच बनाओस् पनि कसरी छाता किन्ने पैसाले उसको १५-२० दिन क्याम्पस जाने भाडा चल्थ्यो । खाना खाई भाँडा माझेर ऊ  दराजमाथि राखेको ल्यापटप झिकेर खाटमा आयो । ल्यापटप र मोबाइलमा छिमेकीको पासवर्ड चोरेको वाइफाई जोड्यो अनि आफ्नो गृहकार्य गर्ने तरखर गर्न लाग्यो । वाइफाई जोड्ने बित्तिकै समाचार हेर्न थाल्यो ,खुसी र आशावादी बनाउने केही थिएनन् समाचार । ऊ दिक्दारियो तर उसले गर्न सक्ने केही थिएन । "अा होस् ! सबैलाई यसैगरी चलेकै छ , मलाई मात्र के नि ?" मनमनै भन्यो अनि आफ्नो काम गर्न थाल्यो ।

     बिहानै पाँच नबजिकनै उठ्नु पर्ने राति नौ दस बज्दा पनि गृहकार्य र अरू काम नसकिने , उसको दैनिकी पनि कठिन थियो । उसको यो दैनिकी सुरु भएको पनि धेरै भयो उच्च माध्यमिक तह देखिनै हो । कोठामा आफू एक्लो , भएजति काम सबै आफैं गर्नुपर्ने । काठमाडौंको ठाउँ न पानी समयमा आउने , न फोहोर समयमा उठाउने , कोठाभाडा उस्तै महङ्गो , सरसामान पनि उस्तै । ऊ आजित थियो यो सहरदेखि । आजित भएर पनि धर थिएन , देशभरिका सबैको शिक्षा स्वास्थ्यको गन्तव्य यहीँ हो , चाहेर नचाहेर यहाँ बस्नु धेरैजसोको बाध्यता थियो । कोही चाहिँ सुविधाकै लागि पनि बस्दथे राजधानीमा । सानैदेखि सहरमा बसेको भएपनि गाउँमै उसको मन रमाउँथ्यो । दुई दिन बिदा हुने बित्तिकै गाउँ गईहाल्थे दाइ र ऊ स्कुल पढ्दा पनि । उसको दाइ कामको सिलसिलामा विदेश गएको थियो । कमाई त्यति राम्रो थिएन तर पनि घर आएर डुकु-लट्ठक भएर बस्नु भन्दा विदेसैमा अलिअलि भने पनि कमाई हुन्छ भनेर बाबुआमाले उतै बस्न भनेका थिए उसको दाइलाई । दाइ उच्च माध्यमिक तह विज्ञान विषय लिएर बल्ल बल्ल पास गरेर स्नातकमा व्यवस्थापन पढ्दै थियो , तर पढाइले मात्रै केही नलाग्ने देखेर विदेश हानिएको थियो पढाइ बिचैमा छोडेर । दाइ भन्दा तेज थियो ऊ पढाइमा , उच्च माध्यमिक , स्नातक सबै पहिलो श्रेणीमा उत्तीर्ण गरेको थियो उसले । स्नातकोत्तरकाे पढाइ पनि राम्रै थियो उसको । 

     उमेरले २४ वर्ष भइसकेको थियो ऊ तर कमाइ आजसम्म फुटेको कौडी थिएन । विदेशमा जस्तो जे पायो त्यही काम गर्न पनि नेपालीलाई लाज लाग्ने , आफ्नो योग्यता अनुसारको काम कि पाइँदै नपाइने पाए पनि तलब एकदम न्यून । त्यही भएर ऊ कामको खोजि नै नगरी बसिरहेको थियो । उसको सोच थियो स्नातकोत्तर गरेपछि त कसो नपाइएला आफूलाई पाल्न सक्ने जागिर । बाबुले पनि उमेर छँदै अवकाश लिएर बसेका थिए उसका , अनि खेती गरेर बसेका थिए गाउँमा । पहिले पहिले बिदा हुने बित्तिकै गाउँ जाने उसलाई आजकल उता गइहाल्न मन लाग्न छोडेको थियो । सानोमा खेतीमा सहयोग गर्न सक्दैनथ्यो , खेताला पनि पाइन्थे त्यसैले खेतीको कामको उसले दुःख पाएको थिएन तर भूकम्प गएदेखि र उसको दाइ विदेसिएदेखि गाउँमा खेताला पाइन छाडे अनि ऊ घर फर्किने बित्तिकै केही न केही काम गरिहाल्नु पर्ने  । खेती लगाउने थन्क्याउने बेलामा त ऊ मन नलागी नलागी पनि जान्थ्यो । घरमा पनि काम गर्ने को नै थियो र ? तिनै दुई बाबु आमा त हो नि , हजुरआमा बुढी केही गर्न नसक्ने ।  बाबुको निवृत्तिभरण र दाइले कमाएको केही पैसाले जेनतेन चल्दैथियो उनीहरूको तीनतिरको भान्छा । यो समस्या उसको मात्रै थिएन , गाउँमा एक न एकजना विदेश नगएका घरै थिएनन् । देशै रेमिट्यान्सले चलेको भन्दा पनि फरक पर्दैनथ्यो।  विदेश नगएका युवा पनि यो पार्टी र ऊ पार्टी भन्दै अर्काको उछितो काढ्ने बाहेक आय आर्जनको राम्रो श्रोत भएका कोही थिएनन् । देशमा जता हेर्यो विरक्त मात्रै लाग्ने । 

     संघीयतामा गएदेखि देशमा करका प्रकार पनि थपिएका थिए । पाल्नु पर्ने ठुला ठालु पनि त बढेका थिए , केन्द्र र प्रदेश सरकारका कर्मचारीहरू । यी सबैलाई पाल्ने पैसाको स्रोत त्यही जनताबाट विभिन्न नाममा उठाइने कर त थियो । विकास भन्दा कुरा धेरै हुन्थे देशमा । एक प्रकारले भन्दा सरकारै ऐजेरु थियो । नेताहरू सबै भतुवा ऐजेरु , जनताको कमाइमा रमाउने निर्दयी ऐजेरु । अरू त छोडिदिउँ देशको अर्थतन्त्र नै विदेशमा गएर हाड घोटेर पसिना चुहाएर पठाएका रेमिट्यान्स र वैदेशिक सहयोगको भरमा चलेको ऐजेरु छ । सोच्दा सोच्दै ऊ आफैंलाई ऐजेरु बनाइरहेको थियो , आफ्नो सुको आम्दानी नभएको , उमेर पुगेर पनि बाबु र दाजुको भरमा जिन्दगी बिताइरहेको ऐजेरु । सुनेको थियो विदेशमा त मान्छे १८ वर्ष कटेपछि आफ्नो व्यवस्था आफैं गर्छन् रे । तर यहाँ त सबै ऊजस्तै ऐजेरु थिए , अर्काको पौरख चुसेर बाँच्ने । तह तहका थिए ऐजेरु पनि , पौरखीको भरमा बाँचेका ऐजेरु , ती ऐजेरुलाई डस्ने अझ उपल्लो स्तरका ऐजेरु , अझै त्यो भन्दा उपल्ला कति कति ।

No comments:

Post a Comment

बलात्कृत

 शुष्क शुष्क सास लिंदै पल्टिरहेकी मलाई  पछाडिबाट कोही घच्घच्याउन थाल्छ  ऊ त अरू कोही नभएर  त्यही पल्ला घरे दाइ पो रहेछन् । उनको घच्घच्याइको ...