Monday, October 31, 2022

बलात्कृत

 शुष्क शुष्क सास लिंदै पल्टिरहेकी मलाई 

पछाडिबाट कोही घच्घच्याउन थाल्छ 

ऊ त अरू कोही नभएर

 त्यही पल्ला घरे दाइ पो रहेछन् ।

उनको घच्घच्याइको उत्तर दिन सक्ने स्थितिमा

मलाई कहाँ छोडेका थिए र 

उनका दाइ भाइ 

अनि मेरै काकाले ।

थकित थिएँ म

पीडित थिएँ म 

तर मेरो कुरो सुन्ने कोही थिएन ।

सुन्न त सुन्थे होलान् तर 

उनीहरू त आफ्नै पिपासा पूरा गर्न तल्लीन थिए ।

म कराउँथेँ तर त्यो नाहकमा जान्थ्यो 

म त गुलियो हराइसकेको चुइङ्गम भैसकेको थिएँ ।

के पाए होला तिनले 

मेरो यो रूखा जर्जर कायबाट ?

तैपनि उनीहरू पालै पालो आउँथे

अनि लुछेर जान्थे मेरा चोक्टा ।

अनि आवाज पनि हराइसकेको म 

कराउन खोज्थेँ

तर के आउँथ्यो 

चुसेर , निचोरेर , च्यातेर

थिलथिलो भैसकेको थुतुनोबाट आवाज ?

आफ्नै तन सम्झी धिक्कार्न थालें आफैं ,

भर्खर टुसाउन लागेका मेरो अङ्गहरू 

सबै चिमोटर, निमोठेर , टोकेर 

हेर्न नहुने भैसकेका थिए ।

यिनीहरू तृप्त भएपछि आफैंलाई

कसरी यो पापी संसारबाट हटाउने सोच्दै थिएँ

एकाएक

मेरो श्वास मन्द भयो

 मुटुको गति सुस्त हुँदै गयो 

अनि मलिन भए उनीहरूका अट्टहास ।

म अर्कै ठाउँमा पुगिसकेको थिएँ 

जहाँ पुरुष कोही थिएनन् ।

स्वर्ग नर्क त थाहा भएन 

तर 

पृथ्वी भन्दा राम्रै थियो ।

आमाको दूध नछुटेका साना नानी देखि

भर्खर यौवनका गुलाबी फेर्न लागेका 

 कैयन बहिनीहरू थिए ।

त्यति मात्र हो र 

मेरा आमा

 हजुरआमाका उमेरका पनि थिए ।

सबैको नियति एउटै रहेछ 

बलात्कृत !

आफ्नैबाट , अरूबाट 

ठुलाबाट , सानाबाट 

सुन्दरबाट , कुरूपबाट

तर हामी सबै थियौं

बलात्कृत !

No comments:

Post a Comment

बलात्कृत

 शुष्क शुष्क सास लिंदै पल्टिरहेकी मलाई  पछाडिबाट कोही घच्घच्याउन थाल्छ  ऊ त अरू कोही नभएर  त्यही पल्ला घरे दाइ पो रहेछन् । उनको घच्घच्याइको ...