दिनहुँ हुइँकिने तिम्रा गाडीबाट जोगिँदै बच्दै आएको म,
आज नबचुँलाजस्तो भयो।
शरीर एक्कासी तातो हुँदै आयो,
तातो र्याल मुखबाट बहन लाग्यो,
त्यसै भाउन्न भएर आयो,
के भयो मलाई यस्तो?
आँखा तिरिमिरी हुँदै आए।
पारीपट्टी थिए मेरा साथीहरू,
तिनीहरूलाई नै भेट्न,
दौडेको थिएँ म।
त्यसपछि के भयो एकैछिनमा,
मलाई सम्झनै छैन ।
एकैछिनमा शरीर चिसिँदै आयो।
दाहिने कुहिनाभन्दा तल मात्रै,
भतभती पोल्दै थियो।
म कराउन खोजेँ,
तर आवाजै आएन ।
यस्सो पोलेको ठाउँतिर हेरेको त,
झनै भाउन्न भयो,
सास फेर्न गाह्रो भयो,
बान्ता आउला जस्तो भयो,
मेरो दाहिने हात पुरै भाँचिएको रहेछ,
छाला सबै लाछिएछ,
हड्डी पुरै टुक्रा टुक्रा भएछ।
म अताल्लिएँ।
के गरौं के गरौं भयो,
तर,
न आवाज आयो,
न म चल्नै सकें।
बिस्तारै,
मेरो कम्मरभन्दा तल लाटो हुँदै आयो ।
मलाई भनभनी रिँगटा लाग्यो,
ह्वाल्ल बान्ता भयो,
रगतै रगत ।
पारीबाट एउटा सेतो कोट लगाएको मान्छे,
म तिरै हानिँदै आउँदै थियो ।
ऊ आइपुग्नुभन्दा अगाडि नै,
दुईचार जना मान्छेले मलाई एउटा बोरामा हाल्न लागे,
म लाटो भएको थिएँ,
न चल्न सकेँ,
न बोल्न।
मेराे मुटु द्रुत गतिमा चलेर,
एकैछिनमा ढक्क रोकियो,
मेरो सारा संसार अँध्यारो भयो।
म नचिनेको संसारमा पुगेको थिएँ।
पहिलाको संसारभन्दा,
बिल्कुलै फरक।