Tuesday, June 12, 2018

काफल पाक्यो ...



        आज त शनिबार ह्या के यति चाँडै उठ्नु ? बिउँझिसकेर नि उठ्ने मन थिएन । पल्टिरहें खाटमा , एकैछिनमा पेट कराएर आए जस्तो भयो भोकले । आफूलाई शनिबार लागे पनि भुँडीलाई शनिबार नलाग्ने रहेछ ।  उठ्नै पर्यो , भएन । उठेर खाजा खोज्न लागेँ , खाजा पनि सिद्धिएको रहेछ एक पोको कफी अनि दुई टुक्रा पाउरोटी मात्रै बाँकी रहेछ । त्यही भए नि खाएँ मुख सुख नधोइकनै । अब के गर्ने त ? गर्ने काम केही छैन , सुत्छु फेरि । फेरि सिरकमा गुटमुटिएर सुतेँ । एकैछिनमा निदाइहालेछु ।

        "काफल पाक्यो" यही आवाजले बिउँझायो मलाई । करिब आठ बजेको हुँदो हो । कताबाट आइरहेको छ यो आवाज ? ध्यान दिएर सुनेँ । कसैले केही बजाएको त हैन ? सोचें मनमनै । गाउँ छोडेर सहर पसेदेखि कहिल्यै सुनेको थिइन यो आवाज । आवाज डेरा नजिकै रहेको ३००-४०० ओटा रुख भएको झाडीबाट आइरहेको थियो । झाडीनजिकै एउटा खोला पनि थियो । खोला पहिले त फोहोरको डङ्गुरले भरिएको थियो तर केही महिनाअघि मात्रै सरसफाइ कार्यक्रम आयोजना गरेर हेर्नलायक बनाएका थिए वरिपरिका बासिन्दाले । यस्तो घनघोर कंक्रिटको जङ्गलमा पनि काफल पाक्यो चराको आवाज सुन्दा मनै रमाएर आयो । फेरि सम्झना आए वाल्यकालका ती दिन । ठ्याक्कै यही समयमा आउँथे ती चराहरू लेकतिरबाट हाम्रो गाउँमा । हुन त माथिबाट तल बेंसी झरेपछि पनि त्यति सुनिएको त थिएन तिनीहरूको आवाज , अझ सहर पसेदेखि त ठ्याप्पै भएको थियो ।

        हाम्रो गाउँमा काफलका बोट त थिएनन् तर ऐंसेलु भने खाइयो धेरै । काँडाले कोरे पनि पर्बाह नगरी पसिन्थ्यो ऐंसेलु घारीभित्र तिमिलाका पातभरि ऐंसेलुका दाना जम्मा पारेर झाडी बाहिर आएर रमाई रमाई खाइन्थ्यो । उमेर बढेसँगै , समय बितेसँगै ती बानीव्यहोरा अतीतमा बिलाउँदै गए । पढ्न भनेर सहर छिरियो । डेरा पनि कम्ता सरिएन । अहिले बसेको डेरामा बसेको आठ नौ महिना भयो होला । ठाउँ ठिकै थियो भाडा पनि ठिकै , तर वाइफाई थिएन कोठामा । डाटा चलाउँदा पैसा खर्च हुन्छ भनेर राम्ररी इन्टरनेट पनि चलाइएको थिएन यता कोठा सरेदेखि ।

        महिनाको ६०० मा १० GB दिन्छ आजकल एउटा प्याकेजमा , साथीले भनेको थियो । त्यही प्याकेज चलाउँदै थिएँ यो महिना । लाग्दैथियो पुग्ला जस्तो छ अलि अलि चलाउनलाई । तर पनि भिडियोहरू हेर्न भने डरै लाग्थ्यो डाटा सिद्धिहाल्ने हो कि भनेर । नयाँ प्याकेज बनाएको एक महिना भएको थिएन फेरि अर्को अझ राम्रो प्याकेज को बारेमा मेसेज आयो मोबाइलमा । महिनाको ६०० मा असीमित डाटा । हैट् ! अब यो प्याकेज बनाइन्छ मजाले नेट चलाइन्छ फुरुङ्ग भयो मन । एकैछिनमा शान्त भएँ , हडबढाएर के गर्नु पहिला राम्ररी बुझ्छु अनि गरौँला काम भनेर टेलिकम कार्यालय तिर लागें कोठा नजिकैको ।

        अस्ति देखेको भन्दा अर्कै थियो कर्मचारी , हुन त पहिलेको भन्दा अर्कै थियो अस्ति देखेको कर्मचारी पनि । कति फेरिन्छन् यहाँका मान्छे ? म त्यहाँ छिर्दा एकजना मान्छेको काम हुँदैथियो । म आफ्नो पालो कुर्दैबसें । आजको यो कर्मचारी हेर्दै अलि अर्कै खालको छ , कि मलाई मात्रै त्यस्तो लागेको हो ? सोच्दैथिएँ , मभन्दा अगाडिको मान्छेको काम सकिएछ , ऊ निस्कियो । मेरो पालो आयो , मैले नयाँ प्याकेज बारे सोधें । ऊ झर्किदै मलाई सोध्यो , "तपाईंको यो नम्बर हाम्रै कम्पनीको त हो नि ? मलाई त यस्तो कुनै प्याकेज बारे जानकारी छैन ।" म पनि त्यति मूर्ख त थिइनँ नि यतिसम्म पनि नबुझी जाने , त्यसमा पनि म टेलिकम कम्पनीको मेसेज हेरेर गएको थिएँ । उस्ले फेरि मलाई मोबाइल नम्बर माग्यो जुन उस्लाई मैले अगिनै दिसकेको थिएँ कागजमा लेखेर । मैले अगिनै दिएको हैन तपाईंलाई मैले भनें । मैले दिएको कागजको चिट्को टिप्यो अनि कम्प्युटरमा के हो टाइप गर्यो अनि फेरि झर्किदै भन्यो , "तपाईंको प्याकेज अहिले नै ६०० को छ , परिवर्तन गर्न मिल्दैन ।" मलाई झनक्क रिस उठ्यो उस्को बोल्ने ढंग देखेर । यसरी दिनभरि ग्राहकसँग बोल्नुपर्ने मान्छे यस्तो झर्केर बोल्छ , यस्ता मन्छेकहाँ काम गराउने कसलाई मन होला ? ऊजस्ता कर्मचारीले बेच्ने भनेकै मिठो बोली न हो , त्यो पनि नभएको यस्तो झ्यासले कसरी जागिर पायो ? यिनै कुरा सोच्दै भित्र भित्रै रिसाउँदै बाहिर निस्किएँ म ।

        यस्ता पनि कर्मचारी हुँदारहेछन् । बोलीचाली बानिबेहोरा त हाकिमको जस्तो रहेछ तर तह चै यस्तो । आफ्नो तह अनुसारको व्यक्तित्व नभएको सन्काहा । म भुतभुताउँदै थिएँ । खाना खाने बेला भइसकेको थियो । बाटैमा पर्ने पसलबाट खाना , दिउँसोको खाजा र बेलुकाको खाना का लागि अलिअलि सामान किनेर कोठा फर्किएँ । खाजाहरू अनि अरू चिज पनि किन्नु त थियो तर गाडी चढेर ठूला पसल चहार्ने इच्छा भएन आज । भोलि अफिसबाट फर्किंदा ल्याउँला चाहिने सामान । कोठा पुगेर लुगा फेरेँ अनि पल्टिएँ खाटमा । टेबुलमाथि हेरें लुगाको थुप्रो थियो । सुतेर भएन , उठें लुगा भिजाएँ , कम्प्युटर खोलें अनि नयाँ गीतहरू बजाउन थालें । फेरि भोक लागिसकेको थियो , अगि किनेर ल्याएको खानेकुराहरू खाएँ अलिकति अनि छिरें लुगा धुन । कम्प्युटरमा गीत बज्दै थिए । मपनि गाउँदै थिएँ स्वर मिलाउँदै ।

        गीतको सुरमा कति छिट्टै लुगा धोएँ पत्तै भएन । छतमा लगेर टाँगें लुगा , फेरि कोठामा आएँ , गीत बजिरहेकै थियो । अब के गर्ने त ? कम्प्युटरमा भएका पुराना फिल्म हेर्छु भनेर खोज्दै थिएँ  बीबीसी को " प्लानेट अर्थ टू " फेरि हेर्न मन लाग्यो । सुरु गरेँ , एकपछि अर्को गर्दै सबै भाग सिध्याएँ । त्यति बेलासम्म चार बजिसकेको रहेछ । खाजा खान नि भुलेछु डकुमेन्ट्रीले गर्दा । ढिलै भएपनि खान्छु भनेर अलिकति खाजा खाएँ , खाइसकेपछि के गर्ने भन्ने विषयमा सोच्दै थिएँ नजर अस्ति किनेको उपन्यासमाथि पर्यो । पाना पल्टाउन थालें उपन्यासका एक पछि अर्को गर्दै तर पढ्ने मन भएन । फेरि बिहानको त्यही टेलिकमको कर्मचारीको कुराले रिस उठ्यो । भएन यो पाराले , जान्छु बाहिरतिर घुम्न एकछिन मन बहलाएर आउँछु भनेर लुगा लगाएर निस्केँ 

        अलिअलि अँध्यारो भइसकेको थियो , घडी हेरेँ छ बज्न लागेको थियो । साँझको कोलाहलमा पनि मैले बिहानको काफल पाक्यो चराको आवाज प्रष्ट सुनेँ । त्यतै जान्छु त्यो चरालाई खोज्न , हिडेँ म त्यही झाडीतिर । जति नजिक गएँ आवाज उति तिखो हुँदै थियो । तर साँझ परिसकेको हुनाले देख्न भने पाइनँ । झाडीभित्र खस्र्याक-खुस्रुक सुनिन्थ्यो अलिअलि , म बिस्तारै झाडी कटेर खोलाको किनारमा पुगें र बसें त्यही पर्खालमा अनि हेर्न थालेँ खोला पारिका बत्ति अनि गाडीहरू । यहाँ सहरको कोलाहलबाट अलिकति भए पनि टाढा भएको अनुभूति भइरहेको थियो । मनका रिस , दुःख , पीडा सबै हराए । के के कुरा सोच्दा सोच्दै आठ बजेको पत्तै भएन । बिस्तारै टहलिँदै कोठा फिरेँ ।

        साँढे आठमा कोठा पुगें , हातगोडा धोएँ , बचेको खाना खाएँ , दाँत माझेँ अनि मोबाइल र इयरफोन लिएर खाटमा चढें । इयरफोनमा गीत सुन्दै फेसबुक खोलें , केही नयाँ छ कि भनेर हेरेँ । त्यसपछि टुइटर खोलें , केही नयाँ ट्विट पढें । दस बजेपछि कानबाट इयरफोन निकालें , काफल पाक्यो चरो अझै पनि कराउँदै रहेछ । सुत्ने कोशिश गर्दै मुख कान छोपेँ तर पनि ऊ कराएको सुनिँदै थियो , " काफल पाक्यो ! काफल पाक्यो ! " बिस्तारै उस्को आवाज मन्द हुँदै गयो मेरो निद्रा गाढा ।

Tuesday, June 5, 2018

बसमा देखेकी केटी

           


        कुरा एक हप्ता जति अगाडिको हो अरू दिन जस्तै बजेको अलार्मले ब्युँझायो , जुरुक्क उठेँ , मुखसुख धोएँ अनि अलिअलि खाजा खाएर हानिएँ कार्यस्थल तर्फ बस चढ्दा सात बजिसकेको थियो भित्र छिरेर हेरेँ , बस खाली जस्तै थियो , ड्राइभर खलासी अनि केही अरू यात्रुहरू अगाडि सिट हुँदा हुँदै पछाडि गएर अन्तिम सिटमा बसेँ प्रत्येक स्टेसनमा मान्छे थपिँदै अनि ओर्लिंदै गए बस बिस्तारै भरिँदै गयो सुस्त गतिमा बस मीनभवन पुग्यो , त्यहाँ पनि केही मान्छे चढ्ने केही ओर्लिने भयो चढ्नेहरूको हुलमा एउटी केटी पनि थिइन् । हेर्दा खेरि अरू भन्दा अलि फरक , विशेष के थियो उसमा गम्दै थिएँ एउटा पनि सिट थिएन खाली उनी उभिन बाध्य भइन् उनलाई सिट छोड्ने कोही भएनन् उनी पनि केही पर्बाह नगरे जसरी उभिरहेकी थिइन् कोही झरिदिए नि हुने, उनले बस्न पाउँथिन् , मैले मनमनै मागेँ बस चल्न थाल्यो , त्यसैगरी चल्दै थियो मेरो मुटु पनि

        वर्ण भन्दा निकै गोरी थिइन् , उचाई पाँच फिट जति हुँदो हो , लवाई हेर्दा शिक्षितै जस्ती देखिन्थिन् , उमेर त्यस्तै चौबिस पच्चिस झट्ट हेर्दा कुनै बैंककी कर्मचारी जस्ती देखिन्थिन् । बैंकका कर्मचारीले त सर्ट पाइन्ट र कोट पो लगाउँछन् त, उनले त सेतो टिसर्ट माथि कोट अनि त्यस्तै रङ्गको पाइन्ट लगाएकी थिइन् । होइन ! कतैकी रिसेप्सनिस्ट हुनुपर्छ, सोच्दै थिएँ मनमनै

        अँ ! त्यही कालो चस्मा मैले देखेको विशेष त्यही हो उनीमा अरू मान्छे भन्दा यति बिहानै , चर्को घाम हुरीबतास , यस्तो समयमा पनि चस्मा लगाएर हिँड्ने कस्ती होली भनेर सोचें आँखामा केही खराबी पो कि भनेर चियाई - चियाई चस्माभित्र पनि हेरेँ नजर जुध्दथ्यो कुनै बेला मुसुक्क मुस्काउँ जस्तो लाग्थ्यो कुनै बेला फेरि सोचें के सोच्ने हो उसले चिन्नु जान्नुको मान्छे के हाँसेको होला भन्ने पो हो कि भन्ने डरले मुस्काइनँ जति हेरेपनि केही देखिनँ खराबी उसको आँखामा बसको चल्ने , रोकिने , उकाल्ने , ओराल्ने क्रम चलिरहेको थियो आफ्नै रफ्तारमा मेरो मनमा पनि अनेकौं प्रश्न उब्जिँदै थिए आफ्नै रफ्तारमा बेलाबेलामा जाम पर्थ्यो , पनि मौका छोपेर गौर गर्दै हेर्थेँ उनको मुहारमा आँखा जुध्ने बित्तिकै अन्तै कतै हेरे जस्तो नाटक पार्थें , अप्ठ्यारो परिस्थिति सृजना नहोस् भनेर

        माइतीघरमा अलि धेरै मान्छे ओर्लिए एउटा सिट खाली भयो बिच तिरको , उनी गएर बसिन् त्यहाँ बसेपछि प्रष्ट नदेखिने रहेछ उनलाई अघिनै देखेको उनको आकृतिलाई दिमागमा चित्रित गर्दै थिएँ सिंहदरबार आएपछि एउटी बुढी आमै चढिन् हातमा के पनि झुन्ड्याएकी थिइन् उनी आएर उनको नजिकै उभिइन् अनुहार हेर्दा सत्तरी काटिसकेकी जस्ती देखिन्थिन् ती बुढी आमै उनको सिट माथि हेरेँ , लेखिएको थियो "वृद्ध , अपाङ्ग , अशक्त सिट" उनले सिट छोड्ने छाँट गरिनन् बुढी आमैलाई मोडमा गाडी घुम्दा बुढी आमैको हातको पोको खुस्किएर झर्यो अनि छरिए भित्र भएका लिचीका गेडा छेवैमा उभिएकी एउटी केटीले उठाइदिइन् बुढी आमैको छरिएका लिचीका दाना बुढी आमैलाई सिट छोड्नु परै जाओस् उनी देखेको नदेख्यै गरिरहिन् भर्खर कोही झरेर उनको लागि सिट खाली पर्दिए हुने भन्ने मेरो मन एकाएक परिवर्तन भयो सोचें कस्ती केटी होली यस्ती बुढी मान्छे आउँदा नि सिट नछोड्ने फेरि खेद लाग्न थाल्यो ती लवाई खवाईमा मात्रै विकसित सभ्य देखिन खोज्ने तर अन्य व्यवहारमा सभ्य हुन नसक्ने स्वार्थी मान्छेहरू प्रति उनि पनि त्यस्तै रैछिन् , अनुहार जिउ लवाई मात्रै राम्रो देखिने तर मनमा अलिकति पनि मानवता नभएकी स्वार्थी

        सहिदगेट पुगेपछि ओर्लिएँ उनको बारेमा केही पनि सोच्न मन लागेन बसबाट झर्दा साँढे आठ बजेको थियो नौ बजे पुग्नुपर्थ्यो कार्यकक्ष , त्यति टाढा पनि थिएन त्यहाँबाट , तैपनि लम्कँदै गएँ एकपल्ट पनि पछाडि नहेरी कार्यकक्ष पुगेपछि पनि मेरो मन स्थिर भएन त्यसै कुराको बारेमा सोच्दै , काम गर्दै दिन बित्यो , बिहानको खाना पनि सबैजस्तो फालेँ , दिउँसो खाजा खाने मनै भएन साँझ घर फर्किएँ , अलिकति खाना खाएँ अनि दस बजेपछि खाटमा पल्टिएँ सुत्ने कोसिस गरेँ , तर मरे निद्रा लागेन त्यही बिहानको कुरा मनमा खेल्न थाल्यो

        सोच्दै जाँदा सम्झना भयो , पनि बिहान बस चढ्दा अगाडि सिट हुँदा हुँदै अन्तिम को सिटमा गएर बसेको थिएँ त्यो किन थियो भने मलाई थाहा थियो यदि अगाडि बसेको भए त्यही बसमा कुनै अपाङ्ग , अशक्त अथवा बुढाबुढी चढेको भए मेरो मानवताले आफू बसिरहेर उनीहरूलाई उभिन दिँदैनथ्यो त्यही आफू उभिनु पर्ला भन्ने डरले नै मलाई पछाडि लागेको थियो , मेरो चेतन मनले नसोचिकनै मानिस आफैंमा स्वार्थी प्राणी हो , अति थोरैले मात्रै आफ्नो नसोचिकन अर्काको सहयोग गर्छन् जति सोचें त्यति सम्झना आयो बिहानकी केटीको फेरि अर्को कुरा सोचें , महिलाहरूको जिन्दगी कहाँ पुरुषहरूको जस्तो सजिलो हुन्छ ? न त्यस्तै कुनै गाह्रो अप्ठ्यारो पो थियो कि उनलाई त्यो बेलामा । म यत्रो जवान मर्द भएर पनि के नै गरेँ  ? अरूको कुरा मनमनै काटेर  बसें । मैले पनि ती बुढी आमैलाई आफ्नो सिटमा ल्याएर  बसाइनँ नि आफूलाई खुबै मानवतावादी ठानेर अरूको मानवता माथि प्रश्न गर्दैथिएँ । मैले आफैंलाई धिक्कारें , उनीप्रति फेरि नजानिँदो सहानुभूति जागेर आयो । बिस्तारै मन शान्त भयो , अनि मजाको निद्रा आयो ।

        भोलिपल्ट बिहान साविकभन्दा अलि चाँडै निद्रा खुल्यो उठेर नुहाएँ , खाजा खाएँ अनि हिडेँ काममा मनमा माग्दै थिएँ आज पनि यही बसमा चढे पनि हुने नि उनी मीनभवन आइपुग्यो तर उनी आइनन् बाहिर पनि हेरें , देखिनँ उनलाई मनै खल्लो भयो , उदास मन लिएर गएँ काम गर्न सोच्दै थिएँ उनको मेरो नजर जुधाई त्यही एक बिहानको मात्रै रहेछ यसै गरी बित्दै थिए दिनहरू , नचाहँदा नचाहँदै बिलाउँदै थिए उनका याद मनबाट

        आज बिहान पनि अरू दिन भन्दा चाँडै ब्युँझिएँ हिजो भर्खर नुहाएकोले आज मुखसुख मात्रै धोई , खाजा खाई , सबेरै निस्केँ स्टेसनमा पुग्ने बित्तिकै बस समातेँ पहिलेकै रफ्तारमा चल्दै थियो बस अन्तिम सिटको ढोका पट्टिको झ्यालबाट बाहिर हेर्दै थिएँ जडीबुटी , कोटेश्वर , तिनकुने  हुँदै बस मीनभवन स्टेसनमा आएर रोकियो बस स्टपमा कुनै परिचित अनुहार देखियो , त्यो अरू कोही नभएर उनै थिइन् मेरो मन फुरुङ्ग भयो , बसमा हेरेँ अगाडि सिट कि भनेर , ठ्याक्कै मेरै अगाडि रहेछ एउटा उनी बिस्तारै आइन् बसिन् त्यहीँ खै बिर्सिएँ पहिलोपटक देखे देखि कति दिन भयो आज , तर लाग्छ वर्षौं भइसक्यो अस्ति आजमा फरक यत्ति कि पहिलोपल्ट देख्दा चस्मा लगाएकी थिइन् , आज थिइनन् आज अस्ति भन्दा अझै राम्री देखें , हुनसक्छ मेरो उनीप्रतिको भावना परिवर्तन भएर होला आज अस्तिको जस्तो बुढी आमै पनि चढिनन् , उनले उठेर सिट छोड्नु पनि परेन सहिदगेट पुगे पछि झरें , जान अझै मन थियो उनीसँगै उनी झर्ने ठाउँसम्म झरिसकेपछि झ्यालबाट उनी बसेको ठाउँमा हेरें , उनी थिइनन् यस्सो पछाडि फर्केर हेरेको उनी मेरै पछाडि पछाडि पो रैछिन् , त्यसै बेला हाम्रो आँखा जुध्यो मुस्कुराएँ , उनी पनि मुस्कुराइन् हिँड्दा हिँड्दै मेरो कार्यालय पनि आइपुग्यो भित्र छिरे , तर उनी अझै अगाडि बढ्दै थिइन् रोक्न सकिनँ आफैंलाई निस्केँ हेर्न उनी कता जान्छिन् भनेर उनी पनि नजिकैको गेटबाट भित्र छिर्न आँटिन् छिर्नुभन्दा अघि भएतिर हेरिन्, सायद् देखिनन् होला मलाई पनि प्रफुल्लित मुद्रामा कार्यालय पसेँ , भोलिदेखि अलि सबेरै कार्यालय आउने निधो गर्दै

बलात्कृत

 शुष्क शुष्क सास लिंदै पल्टिरहेकी मलाई  पछाडिबाट कोही घच्घच्याउन थाल्छ  ऊ त अरू कोही नभएर  त्यही पल्ला घरे दाइ पो रहेछन् । उनको घच्घच्याइको ...