Tuesday, June 12, 2018

काफल पाक्यो ...



        आज त शनिबार ह्या के यति चाँडै उठ्नु ? बिउँझिसकेर नि उठ्ने मन थिएन । पल्टिरहें खाटमा , एकैछिनमा पेट कराएर आए जस्तो भयो भोकले । आफूलाई शनिबार लागे पनि भुँडीलाई शनिबार नलाग्ने रहेछ ।  उठ्नै पर्यो , भएन । उठेर खाजा खोज्न लागेँ , खाजा पनि सिद्धिएको रहेछ एक पोको कफी अनि दुई टुक्रा पाउरोटी मात्रै बाँकी रहेछ । त्यही भए नि खाएँ मुख सुख नधोइकनै । अब के गर्ने त ? गर्ने काम केही छैन , सुत्छु फेरि । फेरि सिरकमा गुटमुटिएर सुतेँ । एकैछिनमा निदाइहालेछु ।

        "काफल पाक्यो" यही आवाजले बिउँझायो मलाई । करिब आठ बजेको हुँदो हो । कताबाट आइरहेको छ यो आवाज ? ध्यान दिएर सुनेँ । कसैले केही बजाएको त हैन ? सोचें मनमनै । गाउँ छोडेर सहर पसेदेखि कहिल्यै सुनेको थिइन यो आवाज । आवाज डेरा नजिकै रहेको ३००-४०० ओटा रुख भएको झाडीबाट आइरहेको थियो । झाडीनजिकै एउटा खोला पनि थियो । खोला पहिले त फोहोरको डङ्गुरले भरिएको थियो तर केही महिनाअघि मात्रै सरसफाइ कार्यक्रम आयोजना गरेर हेर्नलायक बनाएका थिए वरिपरिका बासिन्दाले । यस्तो घनघोर कंक्रिटको जङ्गलमा पनि काफल पाक्यो चराको आवाज सुन्दा मनै रमाएर आयो । फेरि सम्झना आए वाल्यकालका ती दिन । ठ्याक्कै यही समयमा आउँथे ती चराहरू लेकतिरबाट हाम्रो गाउँमा । हुन त माथिबाट तल बेंसी झरेपछि पनि त्यति सुनिएको त थिएन तिनीहरूको आवाज , अझ सहर पसेदेखि त ठ्याप्पै भएको थियो ।

        हाम्रो गाउँमा काफलका बोट त थिएनन् तर ऐंसेलु भने खाइयो धेरै । काँडाले कोरे पनि पर्बाह नगरी पसिन्थ्यो ऐंसेलु घारीभित्र तिमिलाका पातभरि ऐंसेलुका दाना जम्मा पारेर झाडी बाहिर आएर रमाई रमाई खाइन्थ्यो । उमेर बढेसँगै , समय बितेसँगै ती बानीव्यहोरा अतीतमा बिलाउँदै गए । पढ्न भनेर सहर छिरियो । डेरा पनि कम्ता सरिएन । अहिले बसेको डेरामा बसेको आठ नौ महिना भयो होला । ठाउँ ठिकै थियो भाडा पनि ठिकै , तर वाइफाई थिएन कोठामा । डाटा चलाउँदा पैसा खर्च हुन्छ भनेर राम्ररी इन्टरनेट पनि चलाइएको थिएन यता कोठा सरेदेखि ।

        महिनाको ६०० मा १० GB दिन्छ आजकल एउटा प्याकेजमा , साथीले भनेको थियो । त्यही प्याकेज चलाउँदै थिएँ यो महिना । लाग्दैथियो पुग्ला जस्तो छ अलि अलि चलाउनलाई । तर पनि भिडियोहरू हेर्न भने डरै लाग्थ्यो डाटा सिद्धिहाल्ने हो कि भनेर । नयाँ प्याकेज बनाएको एक महिना भएको थिएन फेरि अर्को अझ राम्रो प्याकेज को बारेमा मेसेज आयो मोबाइलमा । महिनाको ६०० मा असीमित डाटा । हैट् ! अब यो प्याकेज बनाइन्छ मजाले नेट चलाइन्छ फुरुङ्ग भयो मन । एकैछिनमा शान्त भएँ , हडबढाएर के गर्नु पहिला राम्ररी बुझ्छु अनि गरौँला काम भनेर टेलिकम कार्यालय तिर लागें कोठा नजिकैको ।

        अस्ति देखेको भन्दा अर्कै थियो कर्मचारी , हुन त पहिलेको भन्दा अर्कै थियो अस्ति देखेको कर्मचारी पनि । कति फेरिन्छन् यहाँका मान्छे ? म त्यहाँ छिर्दा एकजना मान्छेको काम हुँदैथियो । म आफ्नो पालो कुर्दैबसें । आजको यो कर्मचारी हेर्दै अलि अर्कै खालको छ , कि मलाई मात्रै त्यस्तो लागेको हो ? सोच्दैथिएँ , मभन्दा अगाडिको मान्छेको काम सकिएछ , ऊ निस्कियो । मेरो पालो आयो , मैले नयाँ प्याकेज बारे सोधें । ऊ झर्किदै मलाई सोध्यो , "तपाईंको यो नम्बर हाम्रै कम्पनीको त हो नि ? मलाई त यस्तो कुनै प्याकेज बारे जानकारी छैन ।" म पनि त्यति मूर्ख त थिइनँ नि यतिसम्म पनि नबुझी जाने , त्यसमा पनि म टेलिकम कम्पनीको मेसेज हेरेर गएको थिएँ । उस्ले फेरि मलाई मोबाइल नम्बर माग्यो जुन उस्लाई मैले अगिनै दिसकेको थिएँ कागजमा लेखेर । मैले अगिनै दिएको हैन तपाईंलाई मैले भनें । मैले दिएको कागजको चिट्को टिप्यो अनि कम्प्युटरमा के हो टाइप गर्यो अनि फेरि झर्किदै भन्यो , "तपाईंको प्याकेज अहिले नै ६०० को छ , परिवर्तन गर्न मिल्दैन ।" मलाई झनक्क रिस उठ्यो उस्को बोल्ने ढंग देखेर । यसरी दिनभरि ग्राहकसँग बोल्नुपर्ने मान्छे यस्तो झर्केर बोल्छ , यस्ता मन्छेकहाँ काम गराउने कसलाई मन होला ? ऊजस्ता कर्मचारीले बेच्ने भनेकै मिठो बोली न हो , त्यो पनि नभएको यस्तो झ्यासले कसरी जागिर पायो ? यिनै कुरा सोच्दै भित्र भित्रै रिसाउँदै बाहिर निस्किएँ म ।

        यस्ता पनि कर्मचारी हुँदारहेछन् । बोलीचाली बानिबेहोरा त हाकिमको जस्तो रहेछ तर तह चै यस्तो । आफ्नो तह अनुसारको व्यक्तित्व नभएको सन्काहा । म भुतभुताउँदै थिएँ । खाना खाने बेला भइसकेको थियो । बाटैमा पर्ने पसलबाट खाना , दिउँसोको खाजा र बेलुकाको खाना का लागि अलिअलि सामान किनेर कोठा फर्किएँ । खाजाहरू अनि अरू चिज पनि किन्नु त थियो तर गाडी चढेर ठूला पसल चहार्ने इच्छा भएन आज । भोलि अफिसबाट फर्किंदा ल्याउँला चाहिने सामान । कोठा पुगेर लुगा फेरेँ अनि पल्टिएँ खाटमा । टेबुलमाथि हेरें लुगाको थुप्रो थियो । सुतेर भएन , उठें लुगा भिजाएँ , कम्प्युटर खोलें अनि नयाँ गीतहरू बजाउन थालें । फेरि भोक लागिसकेको थियो , अगि किनेर ल्याएको खानेकुराहरू खाएँ अलिकति अनि छिरें लुगा धुन । कम्प्युटरमा गीत बज्दै थिए । मपनि गाउँदै थिएँ स्वर मिलाउँदै ।

        गीतको सुरमा कति छिट्टै लुगा धोएँ पत्तै भएन । छतमा लगेर टाँगें लुगा , फेरि कोठामा आएँ , गीत बजिरहेकै थियो । अब के गर्ने त ? कम्प्युटरमा भएका पुराना फिल्म हेर्छु भनेर खोज्दै थिएँ  बीबीसी को " प्लानेट अर्थ टू " फेरि हेर्न मन लाग्यो । सुरु गरेँ , एकपछि अर्को गर्दै सबै भाग सिध्याएँ । त्यति बेलासम्म चार बजिसकेको रहेछ । खाजा खान नि भुलेछु डकुमेन्ट्रीले गर्दा । ढिलै भएपनि खान्छु भनेर अलिकति खाजा खाएँ , खाइसकेपछि के गर्ने भन्ने विषयमा सोच्दै थिएँ नजर अस्ति किनेको उपन्यासमाथि पर्यो । पाना पल्टाउन थालें उपन्यासका एक पछि अर्को गर्दै तर पढ्ने मन भएन । फेरि बिहानको त्यही टेलिकमको कर्मचारीको कुराले रिस उठ्यो । भएन यो पाराले , जान्छु बाहिरतिर घुम्न एकछिन मन बहलाएर आउँछु भनेर लुगा लगाएर निस्केँ 

        अलिअलि अँध्यारो भइसकेको थियो , घडी हेरेँ छ बज्न लागेको थियो । साँझको कोलाहलमा पनि मैले बिहानको काफल पाक्यो चराको आवाज प्रष्ट सुनेँ । त्यतै जान्छु त्यो चरालाई खोज्न , हिडेँ म त्यही झाडीतिर । जति नजिक गएँ आवाज उति तिखो हुँदै थियो । तर साँझ परिसकेको हुनाले देख्न भने पाइनँ । झाडीभित्र खस्र्याक-खुस्रुक सुनिन्थ्यो अलिअलि , म बिस्तारै झाडी कटेर खोलाको किनारमा पुगें र बसें त्यही पर्खालमा अनि हेर्न थालेँ खोला पारिका बत्ति अनि गाडीहरू । यहाँ सहरको कोलाहलबाट अलिकति भए पनि टाढा भएको अनुभूति भइरहेको थियो । मनका रिस , दुःख , पीडा सबै हराए । के के कुरा सोच्दा सोच्दै आठ बजेको पत्तै भएन । बिस्तारै टहलिँदै कोठा फिरेँ ।

        साँढे आठमा कोठा पुगें , हातगोडा धोएँ , बचेको खाना खाएँ , दाँत माझेँ अनि मोबाइल र इयरफोन लिएर खाटमा चढें । इयरफोनमा गीत सुन्दै फेसबुक खोलें , केही नयाँ छ कि भनेर हेरेँ । त्यसपछि टुइटर खोलें , केही नयाँ ट्विट पढें । दस बजेपछि कानबाट इयरफोन निकालें , काफल पाक्यो चरो अझै पनि कराउँदै रहेछ । सुत्ने कोशिश गर्दै मुख कान छोपेँ तर पनि ऊ कराएको सुनिँदै थियो , " काफल पाक्यो ! काफल पाक्यो ! " बिस्तारै उस्को आवाज मन्द हुँदै गयो मेरो निद्रा गाढा ।

No comments:

Post a Comment

बलात्कृत

 शुष्क शुष्क सास लिंदै पल्टिरहेकी मलाई  पछाडिबाट कोही घच्घच्याउन थाल्छ  ऊ त अरू कोही नभएर  त्यही पल्ला घरे दाइ पो रहेछन् । उनको घच्घच्याइको ...