कुरा एक हप्ता जति अगाडिको हो । अरू दिन जस्तै छ बजेको अलार्मले ब्युँझायो , जुरुक्क उठेँ , मुखसुख धोएँ अनि अलिअलि खाजा खाएर हानिएँ कार्यस्थल तर्फ । बस चढ्दा सात बजिसकेको थियो । भित्र छिरेर हेरेँ , बस खाली जस्तै थियो , ड्राइभर खलासी अनि केही अरू यात्रुहरू । अगाडि सिट हुँदा हुँदै म पछाडि गएर अन्तिम सिटमा बसेँ । प्रत्येक स्टेसनमा मान्छे थपिँदै अनि ओर्लिंदै गए । बस बिस्तारै भरिँदै गयो । सुस्त गतिमा बस मीनभवन पुग्यो , त्यहाँ पनि केही मान्छे चढ्ने र केही ओर्लिने भयो । चढ्नेहरूको हुलमा एउटी केटी पनि थिइन् । हेर्दा खेरि अरू भन्दा अलि फरक , विशेष के थियो उसमा म गम्दै थिएँ । एउटा पनि सिट थिएन खाली । उनी उभिन बाध्य भइन् । उनलाई सिट छोड्ने कोही भएनन् । उनी पनि केही पर्बाह नगरे जसरी उभिरहेकी थिइन् । कोही झरिदिए नि हुने, उनले बस्न त पाउँथिन् , मैले मनमनै मागेँ । बस चल्न थाल्यो , त्यसैगरी चल्दै थियो मेरो मुटु पनि ।
वर्ण म भन्दा त निकै गोरी थिइन् , उचाई पाँच फिट जति हुँदो हो , लवाई हेर्दा शिक्षितै जस्ती देखिन्थिन् , उमेर त्यस्तै चौबिस पच्चिस । झट्ट हेर्दा कुनै बैंककी कर्मचारी जस्ती देखिन्थिन् । बैंकका कर्मचारीले त सर्ट पाइन्ट र कोट पो
लगाउँछन् त, उनले त सेतो टिसर्ट माथि कोट अनि त्यस्तै रङ्गको पाइन्ट लगाएकी थिइन् । होइन ! कतैकी रिसेप्सनिस्ट हुनुपर्छ, सोच्दै थिएँ म मनमनै ।
अँ ! त्यही कालो चस्मा । मैले देखेको विशेष त्यही हो उनीमा अरू मान्छे भन्दा । यति बिहानै , न चर्को घाम न हुरीबतास , यस्तो समयमा पनि चस्मा लगाएर हिँड्ने कस्ती होली भनेर सोचें । आँखामा केही खराबी पो छ कि भनेर चियाई - चियाई चस्माभित्र पनि हेरेँ । नजर जुध्दथ्यो कुनै बेला । मुसुक्क मुस्काउँ जस्तो लाग्थ्यो कुनै बेला फेरि सोचें के सोच्ने हो उसले चिन्नु न जान्नुको मान्छे के हाँसेको होला भन्ने पो हो कि भन्ने डरले मुस्काइनँ । जति हेरेपनि केही देखिनँ खराबी उसको आँखामा । बसको चल्ने , रोकिने , उकाल्ने , ओराल्ने क्रम चलिरहेको थियो आफ्नै रफ्तारमा । मेरो मनमा पनि अनेकौं प्रश्न उब्जिँदै थिए आफ्नै रफ्तारमा । बेलाबेलामा जाम पर्थ्यो , म पनि मौका छोपेर गौर गर्दै हेर्थेँ उनको मुहारमा । आँखा जुध्ने बित्तिकै अन्तै कतै हेरे जस्तो नाटक पार्थें , अप्ठ्यारो परिस्थिति सृजना नहोस् भनेर ।
माइतीघरमा अलि धेरै मान्छे ओर्लिए । एउटा सिट खाली भयो बिच तिरको , उनी गएर बसिन् त्यहाँ । बसेपछि त प्रष्ट नदेखिने रहेछ उनलाई । म अघिनै देखेको उनको आकृतिलाई दिमागमा चित्रित गर्दै थिएँ सिंहदरबार आएपछि एउटी बुढी आमै चढिन् । हातमा के पनि झुन्ड्याएकी थिइन् । उनी आएर उनको नजिकै उभिइन् । अनुहार हेर्दा सत्तरी काटिसकेकी जस्ती देखिन्थिन् ती बुढी आमै । उनको सिट माथि हेरेँ , लेखिएको थियो "वृद्ध , अपाङ्ग , अशक्त सिट" । उनले सिट छोड्ने छाँट गरिनन् बुढी आमैलाई । मोडमा गाडी घुम्दा बुढी आमैको हातको पोको खुस्किएर झर्यो अनि छरिए भित्र भएका लिचीका गेडा । छेवैमा उभिएकी एउटी केटीले उठाइदिइन् बुढी आमैको छरिएका लिचीका दाना । बुढी आमैलाई सिट छोड्नु त परै जाओस् उनी त देखेको नदेख्यै गरिरहिन् । भर्खर कोही झरेर उनको लागि सिट खाली पर्दिए हुने भन्ने मेरो मन एकाएक परिवर्तन भयो । सोचें कस्ती केटी होली यस्ती बुढी मान्छे आउँदा नि सिट नछोड्ने । फेरि खेद लाग्न थाल्यो ती लवाई खवाईमा मात्रै विकसित र सभ्य देखिन खोज्ने तर अन्य व्यवहारमा सभ्य हुन नसक्ने स्वार्थी मान्छेहरू प्रति । उनि पनि त्यस्तै रैछिन् , अनुहार जिउ र लवाई मात्रै राम्रो देखिने तर मनमा अलिकति पनि मानवता नभएकी स्वार्थी ।
सहिदगेट पुगेपछि म ओर्लिएँ । उनको बारेमा केही पनि सोच्न मन लागेन । बसबाट झर्दा साँढे आठ बजेको थियो । नौ बजे पुग्नुपर्थ्यो कार्यकक्ष , त्यति टाढा पनि थिएन त्यहाँबाट , तैपनि लम्कँदै गएँ एकपल्ट पनि पछाडि नहेरी । कार्यकक्ष पुगेपछि पनि मेरो मन स्थिर भएन । त्यसै कुराको बारेमा सोच्दै , काम गर्दै दिन बित्यो , बिहानको खाना पनि सबैजस्तो फालेँ , दिउँसो त खाजा खाने मनै भएन । साँझ घर फर्किएँ , अलिकति खाना खाएँ अनि दस बजेपछि खाटमा पल्टिएँ । सुत्ने कोसिस गरेँ , तर मरे निद्रा लागेन । त्यही बिहानको कुरा मनमा खेल्न थाल्यो ।
सोच्दै जाँदा सम्झना भयो , म पनि त बिहान बस चढ्दा अगाडि सिट हुँदा हुँदै अन्तिम को सिटमा गएर बसेको थिएँ । त्यो किन थियो भने मलाई थाहा थियो यदि म अगाडि बसेको भए र त्यही बसमा कुनै अपाङ्ग , अशक्त अथवा बुढाबुढी चढेको भए मेरो मानवताले आफू बसिरहेर उनीहरूलाई उभिन दिँदैनथ्यो । त्यही आफू उभिनु पर्ला भन्ने डरले नै मलाई पछाडि लागेको थियो , मेरो चेतन मनले नसोचिकनै । मानिस आफैंमा स्वार्थी प्राणी हो , अति थोरैले मात्रै आफ्नो नसोचिकन अर्काको सहयोग गर्छन् । जति सोचें त्यति सम्झना आयो बिहानकी केटीको । फेरि अर्को कुरा सोचें , महिलाहरूको जिन्दगी कहाँ पुरुषहरूको जस्तो सजिलो हुन्छ र ? न त्यस्तै कुनै गाह्रो अप्ठ्यारो पो थियो कि
उनलाई त्यो बेलामा । म यत्रो जवान मर्द भएर पनि के नै गरेँ र ? अरूको कुरा मनमनै काटेर न बसें । मैले पनि ती बुढी आमैलाई आफ्नो सिटमा ल्याएर त बसाइनँ नि । आफूलाई खुबै मानवतावादी
ठानेर अरूको मानवता माथि प्रश्न गर्दैथिएँ । मैले आफैंलाई धिक्कारें , उनीप्रति फेरि नजानिँदो सहानुभूति जागेर आयो । बिस्तारै मन शान्त
भयो , अनि मजाको निद्रा आयो ।
भोलिपल्ट बिहान साविकभन्दा अलि चाँडै निद्रा खुल्यो । उठेर नुहाएँ , खाजा खाएँ अनि हिडेँ काममा । मनमा माग्दै थिएँ आज पनि यही बसमा चढे पनि हुने नि उनी । मीनभवन आइपुग्यो तर उनी आइनन् । बाहिर पनि हेरें , देखिनँ उनलाई । मनै खल्लो भयो , उदास मन लिएर गएँ काम गर्न । सोच्दै थिएँ उनको र मेरो नजर जुधाई त्यही एक बिहानको मात्रै रहेछ । यसै गरी बित्दै थिए दिनहरू , नचाहँदा नचाहँदै बिलाउँदै थिए उनका याद मनबाट ।
आज बिहान पनि अरू दिन भन्दा चाँडै ब्युँझिएँ । हिजो भर्खर नुहाएकोले आज मुखसुख मात्रै धोई , खाजा खाई , सबेरै निस्केँ । स्टेसनमा पुग्ने बित्तिकै बस समातेँ । पहिलेकै रफ्तारमा चल्दै थियो बस । म अन्तिम सिटको ढोका पट्टिको झ्यालबाट बाहिर हेर्दै थिएँ । जडीबुटी , कोटेश्वर , तिनकुने
हुँदै बस मीनभवन स्टेसनमा आएर रोकियो । बस स्टपमा कुनै परिचित अनुहार देखियो , त्यो अरू कोही नभएर उनै थिइन् । मेरो मन फुरुङ्ग भयो , बसमा हेरेँ अगाडि सिट छ कि भनेर , ठ्याक्कै मेरै अगाडि रहेछ एउटा । उनी बिस्तारै आइन् र बसिन् त्यहीँ । खै बिर्सिएँ पहिलोपटक देखे देखि कति दिन भयो आज , तर लाग्छ वर्षौं भइसक्यो । अस्ति र आजमा फरक यत्ति छ कि पहिलोपल्ट देख्दा चस्मा लगाएकी थिइन् , आज थिइनन् । आज अस्ति भन्दा अझै राम्री देखें , हुनसक्छ मेरो उनीप्रतिको भावना परिवर्तन भएर होला । आज अस्तिको जस्तो बुढी आमै पनि चढिनन् , उनले उठेर सिट छोड्नु पनि परेन । सहिदगेट पुगे पछि म झरें , जान त अझै मन थियो उनीसँगै उनी झर्ने ठाउँसम्म । झरिसकेपछि झ्यालबाट उनी बसेको ठाउँमा हेरें , उनी थिइनन् । यस्सो पछाडि फर्केर हेरेको त उनी मेरै पछाडि पछाडि पो रैछिन् , त्यसै बेला हाम्रो आँखा जुध्यो । म मुस्कुराएँ , उनी पनि मुस्कुराइन् । हिँड्दा हिँड्दै मेरो कार्यालय पनि आइपुग्यो म भित्र छिरे , तर उनी अझै अगाडि बढ्दै थिइन् । रोक्न सकिनँ आफैंलाई र निस्केँ हेर्न उनी कता जान्छिन् भनेर । उनी पनि नजिकैको गेटबाट भित्र छिर्न आँटिन् । छिर्नुभन्दा अघि म भएतिर हेरिन्, सायद् देखिनन् होला मलाई । म पनि प्रफुल्लित मुद्रामा कार्यालय पसेँ , भोलिदेखि अलि सबेरै कार्यालय आउने निधो गर्दै ।
No comments:
Post a Comment